समाचार

मधुमेहबाट यसरी बच्नुस्

 मधुमेहबाट जोगिनका लागि प्रत्येक दिन कम्तीमा ३० मिनेटका दरले हप्तामा पाँचपटक व्यायाम गरौँ । त्यसरी गरिने व्यायाम चलायमान हुनुपर्छ । अर्थात् हिँडेर, दौडेर वा पौडी खेलेर गर्न सकिन्छ ।

मधुमेहका बिरामीले मानसिक तनाव लिन हुदैन यदि तनाव बढ्यो भने मधुमेहसमेत बढ्ने हुनाले यसको नियन्त्रण अति आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि नियन्त्रण गर्न सकिन्छ । रातमा निद्रा परेन भने चिकित्सकको सल्लाह लिएर औषधि सेवनसमेत गर्न सकिन्छ ।

मधुमेहका बिरामीले सुर्तीजन्य पदार्थको प्रयोग गरेमा मधुमेहको समस्या देखिने र देखिइसकेकालाई झन्–झन् बढाउँदै लैजाने भएकाले यसको प्रयोग नगरौँ । त्यस्तै, मदिराजन्य पदार्थको अधिक सेवनले पनि मधुमेह हुने र भइसकेकालाई बढ्ने भएकाले यसको प्रयोगमा निषेध ल्याउन जरुरी छ ।

मधुमेह हुने मानिसलेसन्तुलित भोजन गरौँ । प्राकृतिक रेसायुक्त भोजन गराैँ । त्यो भनेको दुई मुठी अन्न, तीन–चार टुक्रा मासु, दाल, दूध, दही, गेडागुडी र नुन कम हालेको फाइबरयुक्त तरकारी खाने । भोकै नबस्ने, दैनिक चारपटक खाने, तर थोरै–थोरै ।

यस्तो रोग हुने मानिसले सकभर मासु नखाएको राम्रो । खानै परे रातो मासु नखाने, त्यसको सट्टा सेतो मासु अर्थात् कुखुरा र माछा मात्र खाने । माछामासुभन्दा रेसायुक्त सागसब्जी खानु राम्रो । त्यस्तै चिप्स, कुकिज, बिस्कुट, कोक–फेन्टालगायत पदार्थको सेवन नगर्ने वा नियन्त्रण गर्ने ।

मधुमेह हुनेहरुले आफ्नो तौल नियन्त्रण गर्न जरुरी हुन्छ । अधिक तौल वा मोटोपनाले मधुमेह हुने सम्भावना हुन्छ । तौल आफ्नो उचाइ अनुसार हुनुपर्छ । आफ्नो उचाइ सेन्टिमिटरमा नाप्ने र त्यसमा एक सय घटाउने । बाँकी जति रहन्छ, त्यतिबराबर तौल हुनुपर्छ । त्यस्तै, मोटोपनामा नाइटोदेखि गोलाइ नाप्दा पुरुषको ९० सेमि र महिलाको ८० सेमिभन्दा बढी हुनुहुँदैन ।

मधुमेह भएमा गर्भवस्थामा कुपोषण भएमा जन्मने बच्चा र आमालाई समेत मधुमेहले समाउँछ । त्यसैले, गर्भावस्थामा पोषिलो पौष्टिक आहार अनिवार्य छ । हरियो सागपात, गेडागुडी, फलफूल, दूध, दहीलगायत खानेकुरा प्रशस्त खुवाऔँ । तर, फेरि गर्भावस्थामा अधिक मोटोपना पनि हानिकारक हुन्छ । त्यसैले सन्तुलित रूपमा रहौँ ।

जिब्रोमा गड्ने गुलिया पदार्थ नखाऔँ खानासाथ जिब्रोमै गड्ने गुलिया पदार्थ नखाऔँ । जस्तै, चिनी, मिठाई, आइसक्रिम, कोक–फेन्टा नखाऔँ । यसले मधुमेह लगाउने र लागिसकेकालाई बढाउने काम गर्छ । तर, जमिनमुनि फलेका तरकारी, फलफूल र कन्दमूलहरू खान सकिन्छ ।

धेरैपटक तारेको खाद्यान्न नखाऔँ, धेरैपटक तारेको खाद्यान्नमा ट्रान्सफ्याट (विषाक्त चिल्लो पदार्थ) हुने र यसले मधुमेह रोगका लागि अनुकूल अवस्था गरिदिने भएकाले यस्तो खाद्यपदार्थ नखाएको राम्रो । होटेल तथा रेस्टुरेन्ट र फ्याक्ट्रीमा बनेका तयारी खाजा तथा खानामा ट्रान्सफ्याट बढी हुन्छ । त्यसैले मधुमेहबाट जोगिन यस्ता खाद्यान्नबाट जोगिनुपर्छ ।

मधुमेह भएका मानिसले वर्षको एकपटक स्वास्थ्य परीक्षण गरेमा मधुमेहबाट जोगिन सकिन्छ । वर्षको एकपटक स्वास्थ्य परीक्षण अनिवार्य हुन्छ । यो वंशाणुगतसमेत भएकाले बाबुआमा, बाजेबज्यैलाई यस्तो समस्या छ भने छोराछोरी, नातिनातिनीलाई पनि देखिन सक्छ । त्यसैले, परिवारमा रोग देखिएकोमा २५ वर्ष पुगेपछि र रोग नदेखिएको परिवारका सदस्यले ४० वर्षदेखि यो रोगको परीक्षण गर्नुपर्छ । एजेन्सी

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.