समाचार

सिंगापुरमा बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छुः प्रम ओली

17 Aug, 2019

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् । बालुवाटार स्थित प्रधानमन्त्री निवासमा झापा क्षेत्र नम्बर ५ का अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् ।

भरिभराऊ बैठक कक्षमा प्रसन्न मुद्रामा प्रवेश गर्दै उनले सोधे, म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनु भएको हो कि क्या हो ?

झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्ताहरुसँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा हिजो चलाइएका निराधार हल्लाहरुको प्रसंग उल्लेख गर्दै भने, “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिए पछि सबै निको भयो । तर, अफवाह म सिकिस्त भएजस्तै फैलाइयो ।”

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकहरुसँग भने “गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढी औंलादेखि कान्छी औंलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अंग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।” प्रधानमन्त्री ओलीले आफू १५ वर्ष अघि बिरामी भएको र १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेको स्मरण गरे । “म अहिले होइन, १५ वर्ष अघि बिरामी थिएँ । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेको हुँ । त्यही कहानीलाई अहिले प्रचार गरिएको छ ।”

प्रधानमन्त्री ओलीले भने “मलाई बिरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ । बिरामी हुँदाहुँदै बहुमत दिलाएँ । सरकार बनाएँ र बिरामी हुँदा हुँदै पार्टी एकिकरण गरेँ ।”

नेकपा अगुवा कार्यकर्ताहरुले झापा क्षेत्र नं ५ को दमक, गौरादह नगरपालिका र कमल गाउँपालिकामा औद्योगिक पार्क निर्माण गर्ने परियोजना लगानी बोर्डले स्वीकृत गरिदिएकोमा धन्यवाद दिएका छन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले औद्योगिक पार्क निर्माण हुन लागेकोमा सबैलाई बधाइ दिए ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.