समाचार

प्राधिकरणले पहिलो चरणमा तीन हजार मेगावाटसम्म निजी उत्पादकको विद्युत् खरीद गर्ने

निजी विद्युत् उत्पादकले उत्पादन गरेको विद्युत् कुनै पनि शर्त नराखी नेपाल विद्युत् प्राधिकरणले खरीद गर्ने भएको छ । यसअघि आवश्यक परेको समयमा मात्रै विद्युत् खरीद गर्ने व्यवस्था थियो । सो व्यवस्थालाई हटाएर प्राधिकरणले निजी उत्पादकसँग सहजरुपमा विद्युत् खरीद गर्ने निर्णय गरेको हो । प्राधिकरण सञ्चालक समितिको बुधवार बसेको बैठकले निजी उत्पादकलाई तोकिएको समयभन्दा शीघ्र आयोजना सम्पन्न गर्न समेत आग्रह गर्दै ‘लिऊ र तिर’ को नीति अख्तियार गरेको छ । प्राधिकरणको उक्त निर्णयपछि यसअघि भएका आवश्यक परेको समयमा मात्रै विद्युत् लिने निर्णय निष्क्रिय भएको छ । प्राधिरकणले पहिलो चरणमा तीन हजार मेगावाटसम्म विद्युत् लिने निर्णय गरेको हो । तीन हजार मेगावाट पछि सरकारको निर्देशनपछि आवश्यक निर्णय गरिने प्राधिकरण सञ्चालक समितिका सदस्य भक्तबहादुर पुनले बताए । प्राधिकरणले उक्त नीति अवलम्बन गरेपछि करीब एक हजार १ सय  मेगावाट क्षमताका जलविद्युत् आयोजनासँग आवश्यकता आधारमा मात्रै विद्युत् किन्ने गरी भएका सम्झौता लिऊ र तिरमा परिणत हुने उनले जानकारी दिए । हाल निजी क्षेत्रका दुई हजार ६ सय ९० मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा रहेका छन् भने केही आयोजना निर्माणमा जाने तयारीमा रहेका छन् । त्यस्तै, प्राधिकरण र सहायक कम्पनीमार्फत अगाडि बढिरहेका आयोजनाको हकमा पनि सोही निर्णय आकर्षित हुनेछ । नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाका हकमा सो निर्णय लागू हुनेछ । सरकारले गत वर्षदेखि लागू गरेको ऊर्जा सङ्कटकाल कार्ययोजनाअनुसार नै पहिलो चरणमा तीन हजार मेगावाट विद्युत् उत्पादन हुने अवस्थासम्म मात्रै निजी क्षेत्रले उत्पादन गरेको विद्युतलाई सहजीकरण गरिएको र त्यसपछिको हकमा थप अध्ययन जरुरी देखिएकाले प्राधिकरण सञ्चालक समितिका एक सदस्यको नेतृत्वमा अध्ययन समिति बनाइएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने प्राधिकरणले निजी क्षेत्रलाई थप सहज बनाउन लागिएको र त्यसले विद्युत् उत्पादनमा थप उभार आउने विश्वास व्यक्त गरे । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले प्राधिरकणले आवश्यकता मात्रै परेको समयमा विद्युत् खरीद गर्ने भन्ने व्यवस्था हटाउन यसअघि नै माग गर्दै आएको थियो । यसअघि २०७० भदौमा प्राधिकरण सञ्चालक समितिले आवश्यकता अनुसार मात्र बिजुली किन्ने नीति ल्याएको थियो । सो नीति निजी प्रवद्र्धकको हितमा नरहेको भन्दै इप्पानले आपत्ति प्रकट गर्दै आएको थियो । बुधवारको बैठकले विगतको निर्णयलाई उल्ट्याएर नयाँ निर्णय गरेपछि इप्पानले पनि प्राधिकरणको निर्णयलाई स्वागत गरेको छ । इप्पान अध्यक्ष शेलैन्द्र गुरागाईले आफूहरुले उठाउँदै आएको माग सामान्य रुपमा सम्बोधन भएको बताए । आवश्यकता अनुसार मात्र विद्युत् प्राधिकरणले बिजुली किन्ने नीति ल्याएपछि आयोजना लगानीयोग्य नहुने भन्दै प्रवद्र्धकले यसलाई हटाउन सरकारलाई अनुरोध गरेका थिए । आवश्यकताअनुसार बिजुली किन्ने नीतिमा बैङ्कले आयोजनामा लगानी गर्न पछि हट्न थालेका थिए । यस्तै प्राधिकरणले लगाउँदै आएको जलवायुसम्बन्धी जरिवाना पनि हटाएको छ । ठूला आयोजनाको हकमा त्यस्तो शुल्क लाग्ने भए पनि साना तथा मझौला आयोजनालाई शुल्क लगाइएकाले आफूहरुलाई काम गर्न असहज भएको ऊर्जा उद्यमीको भनाइ थियो । ऊर्जा मन्त्रालयले यसअघि नै निर्देशिका जारी गरी १ सय मेगावाट क्षमतासम्मका आयोजनाको विद्युत् खरीद सम्झौता गर्ने अधिकार प्राधिकरणका कार्यकारी निर्देशकलाई दिएको थियो । रासस

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com


Health Sarokar Tv

CopyRight @ 2019 Health Sarokar. All Right Reserved.