समाचार

नेपालगन्ज मेडिकल कलेजले माग्यो थप ३ लाख

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीसँग सरकारले तोकेभन्दा ३ लाख रुपैयाँ बढी शुल्क मागेको छ । भर्ना भएका विद्यार्थी तथा उनीहरूका अभिभावकका अनुसार भर्ना शुल्कबापत १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ कलेजलाई बुझाएको भए पनि कलेजले व्यवस्थापनका लागि भन्दै थप ३ लाख रुपैयाँ मागेको हो । 

कलेजले अतिरिक्त शुल्क मागेपछि आइतबार पीडित विद्यार्थी तथा अभिभावकले जिल्ला प्रशासन कार्यालय पुगेर कारबाहीका लागि निवेदन दिएका छन् । ‘भर्ना शुल्क बुझाउँदा पनि विद्यार्थीलाई होस्टलमा पस्न दिइएन,’ अभिभावक महेश पौडेलले भने, ‘नियमअनुसार शुल्क बुझाएका छौं । गैरकानुनी रूपमा मागेको पैसा बुझाउँदैनौं ।’ कलेजको नियमित पठनपाठन आइतबारदेखि सुरु भइसकेको छ । अतिरिक्त शुल्क नबुझाएका ३९ जना विद्यार्थीलाई कक्षामा पस्न दिइएको छैन ।

‘नाम निकालेर पनि पढ्न पाएका छैनन्, यो कलेजको गैरजिम्मेवारपना हो,’ अभिभावक विजय साहले भने, ‘चिकित्सा आयोग र सरकारको निर्णय नमान्ने कस्तो कलेज हो ?’ चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७६/०७७ का लागि एमबीबीएस र बीडीएसको शिक्षण शुल्क तोकिसकेको छ । उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न ४० लाख २३ हजार २ सय ५० रुपैयाँ र उपत्यका बाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । आयोगले बीडीएस पढ्न २० लाख १९ हजार ५ सय ८० रुपैयाँ शुल्क कायम गरेको छ । विदेशी विद्यार्थी र चिकित्साशास्त्रका अन्य विषयको शुल्क तोक्न सम्बन्धित विश्वविद्यालय र प्रतिष्ठानलाई अधिकार दिइएको छ ।एमबीबीएसमा तोकिएको शुल्कमध्ये पहिलो वर्ष एक तिहाइ रकम मात्रै बुझाए पुग्छ । बाँकी रकम वार्षिक रूपमा किस्ताबन्दीमा बुझाउनुपर्नेछ ।


बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले विद्यार्थी तथा अभिभावकको निवेदनपछि कलेजमाथि कारबाहीको माग गर्दै चिकित्सा शिक्षा आयोगमा पत्र पठाइएको बताए । कलेजका प्रबन्ध निर्देशक सुरेश कनौडियाले भने यसबारेमा कुनै प्रतिक्रिया दिन मानेनन् । कान्तिपुर दैनिकबाट

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.