समाचार

काठमाडौंका अस्पतालमा पर्याप्त ‘आइसोलेसन वार्ड’ नै छैन !

काठमाडौँ । विश्वमा बर्सेनि नयाँनयाँ रोगहरु देखापरिरहेका छन् । त्यससँगै ती रोगको महामारी फैलिँदा थुप्रैले ज्यान गुमाइरहेका छन् । सन् २०१४ मा देखिएको इबोला अनि २०१५ मा जिका भाइरसले विश्व नै भयभित बन्न पुगेको थियो । सन् २०२० मा देखिएको नोवल कोराना भाइरस भित्रिँदा सबै सशंकित देखिएका छन् ।

चीनबाट फैलन सुरुभएको यो भाइरस अरु देशमा पनि द्रुत गतिमा फैलिरहेको छ। यो भाइरस नेपाल पनि भित्रिएको छ।

केही समयअघि डेंगुले महामारीको रुपमा लिँदा थुप्रैले ज्यान गुमाउन बाध्य भएका थिए। केही दिनअघि हुम्लामा झाडापखाला र ज्वोरोको कारण ५ जनाले ज्यान गुमाएका थिए। सामान्य जीवनजल समेत नपाउँदा मरिरहेका देशमा महामारी फैलिए त्यसका लागि नेपाल कत्तिको तयार छ त?


विश्वका विकसित देशहरु महामारी नियन्त्रणका लागि प्रयासरत रहँदा पनि ‘आउटब्रेक’ भइरहेको अवस्था छ। के नेपालका सरकारी तथा निजी अस्पताल महामारी फैलिएको खण्डमा बिरामीको उपचारका लागि तयार छन्?


स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० का अनुसार हरेक स्वास्थ्य संस्थामा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका मापदण्ड बमोजिम संक्रमण नियन्त्रणको व्यवस्था हुनुपर्छ र त्यसको प्रभावकारी अनुगमन पनि हुनुपर्छ। निर्देशिकाको परिच्छेद ४ को अस्पताल सम्बन्धी मापदण्डहरुमा प्रकोपजन्य रोगहरु, प्राकृतिक प्रकोप जस्ता पक्षहरुलाई विचार गरी आकस्मिक उपचार सेवाका लागि संस्थाले विपत व्यवस्थापन योजना बनाउनुपर्ने नियम रहेको छ।


साथै, सरुवारोग भएका बिरामीहरुलाई सघन उपचार आवश्यक परेका बिरामीहरुलाई छुट्टै आइसोलेसनमा उपचारका प्रबन्ध मिलाउनुपर्ने बताउँछ। तर नेपालका धेरै अस्पतालहरुमा उक्त सुविधा छैनन् र भएपनि राम्रो गुणस्तरका छैनन्।


सन् २०१४ मा इबोलाको महामारी फैलँदा नेपालले पनि सतर्कता अपनाएर हेल्थ डेस्क निर्माण गरेको थियो। २०७२ सालको महाभूकम्प कारण क्षतिग्रस्त भएपछि बन्द भएको हेल्थ डेस्क अहिले पुनः सञ्चालनमा आएको छ। पछिल्लो समायोजन लगायत विभिन्न कारणले हेल्थ डेक्स चल्न सकेको थिएन।

सीमा नाका झापाको काँकडभिट्टा चौकी, विराटनगरको रानी भन्सार, रसुवाको रसुवागढी नाका, कञ्चनपुरको गड्डाचौकी, भैरहवाको बेलहिया नाका, नेपालगञ्जको जमुनाहा नाकामा हेल्थ डेस्क स्थापना गरिएको थियो।हाल यात्रुहरुका जाँचका लागि मन्त्रालयले विमानस्थलमा थर्मल स्क्यानरसहित ८ जना चिकित्सक र स्वास्थ्यकर्मीसहितको टोली राखेर हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीका अनुसार नेपालमा महामारी फैलिएको खण्डमा नेपाललाई नियन्त्रण गर्न निकै गाह्रो पर्नसक्छ।
‘महामारी नियन्त्रणको लागि नेपाल प्रयासरत छ। तर निरन्तरता दिन सकिरहेको हुँदैन। हामी जहिल्यै पनि पूर्व तयारीमा रहनुपर्छ। के हामीले त्यसो गरेका छौं त,’ उनी प्रश्न गर्छन्, ‘उदाहरणका लागि नेपाल भ्रमणमा आएका पर्यटकलाई नाम्चे घुम्न गएको बेला कोराना भाइरसको लक्षण देखियो भने उनलाई उपचारका लागि कसरी ल्याउने? भरियालाई बोकाएर ल्याउँदा, उसलाई पनि त सर्ने डर हुन्छ। प्लेनमा पनि कसरी ल्याउने?’


उनका अनुसार सरुवा रोगका बिरामीहरुलाई एम्बुलेन्समा ल्याउँदा डबल क्याब भएको आइसोलेटेड एम्बुलेन्स हुनुपर्छ। सायद त्यो नेपालमा धेरै छैनन् होला। उनले भने, ‘यस्ता एम्बुलेन्स सबै प्रदेशमा राखिनुपर्छ। हामी कमजोर छौँ। तर गर्न नसक्ने होइन। पूर्वतयारी हुनुपर्छ।’
शिक्षण अस्पताल महाराजगन्जका निर्देशक प्रा.डा. प्रेम खड्गाले दिएको जानकारी अनुसार नेपालकै ठूलो रेफ्रल सेन्टरमा आइसोलेसन वार्ड नै छैन। ‘आइसोलेसन वार्ड नै भन्ने छैन, अहिले कोरोना भाइरस आएपछि मन्त्रालयको पत्राचार पछि हामीले एउटा रुम भने छुट्याएका छौँ,’ उनले भने, ‘यसअघि भने थिएन। सरकारले तयार हुन भनेको छ। टेकुबाट यता मान्छे आएभने हामी तयार नै छौँ।’ तर उनले भीडभाड हुने अस्पतालमा यस्ता बिरामीलाई राख्न अप्ठ्यारो हुने बताए।


नाम नबताउने सर्तमा त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले बताए अनुसार नेपालको कुनैपनि सरकारी अस्पतालमा आइसोलेसनन वार्ड नै भनेर कुनै व्यवस्था नै गरिएको छैन। उनका अनुसार कुनै अस्पतालले आइसोलेसन वार्ड भनेर छुट्टै वार्ड बनाएको भएपनि त्यो विशिष्ट खालका नभएको दाबी गरे।


‘आइसोलेसन वार्डको पनि प्रकार हुन्छ। हावा छिर्नै नदिने खालको हुनुपर्छ र त्यसैअनुसार त्यसमा खटिने चिकित्सक तथा नर्स तालिम प्राप्त हुनुपर्छ,’ उनले भने।‍


हावाबाट सर्ने जटिल खालका सरुवा रोगबाट संक्रमित बिरामीबाट स्वस्थ व्यक्तिमा रोग नसरोस् भनेर बिरामीलाई आइसोलेसन वार्डमा राख्ने गरिन्छ। यस्तो वार्डमा त्यही किसिमका उपकरणहरु हुन्छन् जसले संक्रमणबाट पूर्ण रुपमा बचाउँछ। हावा फिल्टर भएर इन्फेक्सन बाहिर नफैलियोस् भनेर यसमा फिल्टर गर्ने मेकानिजम हुन्छ। सरुवा रोग अस्पतालमा झन् यस्तो वार्ड अनिवार्य हुन जरुरी छ।


संक्रमित रोग लागेको बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ‘फिजिकल प्रोटेक्टिभ इक्युप्मेन्ट’ आवश्यक हुन्छ त्यो भनेको उनीहरुले प्रयोग गर्ने पञ्जा तथा लुगाहरु विशेष खालको हुनुपर्छ। हावा छिर्नु हुँदैन।


टेकु अस्पतालमा बनाएको आठ शैय्याको आइसोलेसन वार्ड झन्डै एक दशकदेखि सञ्चालनमा आउन सकेको छैन। उक्त वार्ड अझै पनि बन्द नै छ। बेड र बनावटको हिसाबले उक्त वार्ड उत्कृष्ट छ।


जनशक्ति र बजेट अभाव भएर सञ्चालनमा आउन नसकेको भन्दै टेकु अस्पतालका निर्देशक डा वासुदेव पाण्डे भन्छन्, ‘त्यो सञ्चालनमा ल्याउन हामीले विश्व स्वास्थ्य संगठनसँग कुरा गरिरहेका छौँ।’
उनले रोग महामारी नियन्त्रणको लागि रोग नियन्त्रण माहाशाखाले विभिन्न नीतिहरु बनाएको बताए। उनले भने, ‘भूकम्पका बेला राम्रो समन्वय भएको थियो। यसमा सरकारी तथा गैरसकारी अस्पताल दुवैले सहयोग गरे। संघीय संरचनामा जाँदा केही नमिलेको देखिए पनि नेपालमा यसको लागि राम्रो तयारी छ।’


हाल टेकु अस्पतालले कोराना भाइरस देखिएपछि भने छुट्टै क्याबिन बनाएर ६ बेडको आइसोलेसन बेड बनाइएको छ तर त्यो पनि एकदमै विशिष्ट खालको भने होइन।


टेकु अस्पतालमा कार्यरत एक उच्च स्रोतका अनुसार अहिले बनाइएको आइसोलेसन वार्डले स्ट्यान्डर्ड छैन। उनी भन्छन्, ‘आइपरेपछि यो कामचलाउ जस्तो बनाइएको छ। हरेक महामारीको लागि जहिल्यै पनि तयारी अवस्थामा रहनुपर्छ।’


यस्तै पाटन अस्पतालले पनि ५ बेडको आइसोलेसनको व्यवस्था रहेको जानकारी गराएको छ।
तर, सबै अस्पतालमा विश्व स्वास्थ्य संगठनले तोकेअनुसारको पूर्वाधार भने छैनन्  । वीर, शिक्षण तथा सिभिल अस्पतालमा पनि त्यस्तो उच्चस्तरीय आइसोलेसन वार्डहरु छैनन्।


सिभिल अस्पतालले २ बेडको आइसोलेसन वार्ड बनाएको जानकारी गराएको छ। सिभिलका आईसीयू प्रमुख विदेश विष्ट भन्छन्, ‘हामीले बिरामी बढेको खण्डमा ६ बेडको आइसोलेसन वार्ड पनि थप्न सक्छौँ। मन्त्रालयले पत्राचार गरेपछि कोरोना भाइरसको लागि हामीले अस्पताल आउने हरेक बिरामीलाई सुक्ष्म रुपमा परीक्षण गर्ने सोच बनाइसकेका छौँ।’


यस्तै मेडिसिटी अस्पतालका जेनेरल म्यानेजर विजय रिमालका अनुसार सो अस्पताल कुनैपनि महामारी फैलिएको खण्डमा उपचार गर्न तयारी अवस्थामा छ। डाक्टरहरु जहिल्यै पनि स्ट्यान्डबाइ नै हुने गरेको उनको दाबी थियो। ‘हामीसँग आइसोलेसनको पूर्वाधार पनि छ। हाल कोराना भाइरसको केसमा टेकुअस्पतालसँग समन्वय गरेका छौँ,’ उनले भने।


त्यसैगरी नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले पनि नर्भिकमा उच्च गुणस्तरको आइसोलेसन वार्डको व्यवस्था रहेको जानकारी दिए।


‘हामीसँग यसका लागि ३ वटा रुम छ। कुनैपनि त्यस्ता संक्रमित आएका खण्डमा हातेमालो गर्छौं। आखिर डेंगुमा पनि सहयोग गरेकै हौँ,’ उनले भने।


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक लालका अनुसार कुनैपनि आपतकालिन अवस्था तथा महामारी फैलन नदिन रुटिन बेस्ड सिस्टम हुनुपर्छ। त्यसका लागि दिर्घकालीन सोच लिएर अगाडि बढ्नुपर्छ। ‘हामीसँग सोच नभएको होइन। तर कार्यान्वयन नभएको हामी स्वीकाछौँ। यद्यपि ध्यान दिएका छैनौँ भन्ने होइन,’ उनले भने।

‍‍‍
उनले आइसोलेसन वार्ड बनाउनका लागि विभिन्न ठूला अस्पताललाई मन्त्रालयले निर्देशन दिएको जानकारी गराए। उनले भने, ‘बेड छुट्याउनुस् भनेका छौँ। सकिन्छ भने वार्ड नै छुट्याउनुस् भनेर पनि भनेका छौँ। भेन्टिलेटर आईसीयूका लागि पनि तयारी रहन आग्रह गरिएको छ।’


रातारात बनाइएका आइसोलेसन बेड राम्रो होलान् त भन्ने प्रश्नमा उनले भने, ‘आइसोलेसनको पनि विभिन्न प्रकार हुन्छ। रोग कत्तिको संक्रामक छ भन्ने हो। यसका लागि एकदिनको तयारी नभएर दीर्घकालिन रुपमा जानुपर्छ।’


इबोला जस्तै डरलाग्दो नभएपनि कोरोना भाइरस तथा अरु संक्रामक रोगका लागि भने पूर्व तयारी हुनैपर्ने उनले बताए।


यस्तै सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाहेक कोरोना भाइरसको बारेमा कसैलाई पनि नबोल्न निर्देशन दिएको छ। सरकारले तादरुकता नदेखाउँदा उपचारमा खटिएका चिकित्सकहरु पनि उत्साहित देखिँदैनन्। यसरी सम्बन्धित निकाय नै पछि हटेपछि महामारी नियन्त्रणका लागि पहल नै फितलो भएको देखिन्छ। कान्तिपुर दैनिकबाट

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.