समाचार

कोहलपुर मेडिकल कलेजको जग्गा उपयोग नहुँदा गौचरणमा परिणत

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकास्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमीले सरकारसँग लिजमा लिएको १३ बिगाहा जमीन उपयोग नहुँदा गौचरणमा परिणत भएको छ । कलेजको भौतिक संरचना निर्माणका लागि तत्कालीन श्री ५ को सरकारले प्रदान गरेको जमीन एकेडेमीको लापरबाही र उदासीनताले प्रयोगमा आउन सकेको छैन । 

२३ वर्षअघि सम्झौता गरी उक्त जग्गा तत्कालीन श्री ५ को सरकारबाट एकेडेमीले लिजमा लिएको थियो । लिजमा लिएको जमीनमा अस्पताल निर्माण गरी सञ्चालन गर्ने सम्झौता छ । एकेडेमीले सम्झौता विपरीत कोहलपुर नगर विकास समितिबाट सहुलियत दरमा १० बिगाहा जमीन लिजमा लिई अस्पताल सञ्चालन गर्दै आएको छ ।

अस्पतालले सरकारबाट प्राप्त गरेको जग्गामा संरचना बनाएर सेवा दिनुपर्ने भए पनि अहिलेसम्म उक्त जग्गा प्रयोगमा नल्याएको कोहलपुर नगर विकास समितिका अध्यक्ष लुटबहादुर रावतले बताए । ‘४९ वर्षका लागि लिजमा लिइएको जमीनमा एकेडेमीले अहिलेसम्म कुनै पनि संरचना निर्माण गरेको छैन,’ उनले भने, ‘सरकारबाट पाएको जग्गा त्यसै छाडी कलेजले नगर विकासको जग्गा कब्जा गरी भौतिक संरचना निर्माण गरेको छ ।’  

२०५३ पुस ४ गते तत्कालीन शिक्षा मन्त्रालयका तर्फबाट निमित्त सचिव जयराम गिरी र लर्डबुद्ध एजुकेशनल एकेडेमीका अध्यक्ष मुकुन्दभक्त श्रेष्ठले २२ बुँदे सम्झौैता गरी उक्त जग्गा लिजमा लिइएको थियो । एकेडेमीले वार्षिक रू. १ लाख भाडा सरकारलाई बुझाउने गरी साविक रझेना गाविस–४, को कित्ता नम्बर ९८ मा रहेको १३ बिगाहा जमीन लिजमा लिएको थियो । जग्गामा निर्माण भएको भवन लगायत संरचना, उपकरण र अन्य सामग्री ४९ वर्षपछि नेपाल सरकारको मातहतमा हुने सम्झौतामा उल्लेख छ । जमीन लिजबापत अस्पतालले आर्थिक अवस्था कमजोर भएका नेपाली नागरिकलाई निःशुल्क औषधिउपचार र ३० प्रतिशत शय्या उपलब्ध गराउने सहमति भएको थियो । 

एकेडेमी तथा नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक सुरेश कनोडिया भने उक्त जमीन सरकारलाई फिर्ता गरिसकेको बताए । ‘उक्त जग्गा जग्गा नेपाल सरकारको हो, हामीले संस्थागत रूपमै निर्णय गरेर फिर्ता गरिसक्यौं,’ उनले भने, ‘अब सरकारले के गर्छ, त्यो हामीलाई थाहा छैन् ।’ सम्झौता अनुरूप काम नभएपछि जग्गा फिर्ता लिने प्रक्रिया अघि बढाएको कोहलपुर नगरपालिकाले बताएको छ । यातायात व्यवस्था कार्यालय नेपालगञ्जलाई भवन निर्माण गर्न उक्त जग्गाबाट ५ कठ्ठा उपलब्ध गराए पनि यातायातले ट्रायल सेन्टर मात्र चलाएको र भवन निर्माणको कुनै प्रक्रिया अगाडि बनाएको नगरपालिकाले जानकारी दिएको छ । आर्थिक अभियानबाट

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.