समाचार

औषधि एक्सपायरी- किन प्रयोग गर्नु हुँदैन म्याद सकिएका औषधि?

मानौँ तपाईँ कुनै औषधि दैनिक रूपमा प्रयोग गर्नु हुन्छ, तपाईँले केही महिनाको लागि भनेर एकै चोटि औषधि लग्नु भएको छ। यदि तपाईँ सजग हुनुहुन्छ र सो औषधिमा एक्सपायरी फेब्रुअरी १, २०२० लेखेको छ भने तपाईँ जनवरी भरी त्यो औषधि ढुक्क भई खानुहुन्छ र फेब्रुअरी महिना लागे पछि त्यसलाई फाल्नु हुन्छ वा खान छोड्नु हुन्छ। के जनवरी ३१ को राती ११:५९ सम्म खान मिल्ने औषधि फेब्रुअरी १ को १२:०० हुने बित्तिकै विष बन्ने हो त? एक मिनेट अगाडि सम्म ढुक्क भएर सेवन गरेको औषधि अर्को मिनेटमा खानै नहुने कसरी भयो। के एकै मिनेटमा त्यस्तो परिवर्तन सम्भव छ त? आखिर के आधारमा चाहिँ औषधीको म्याद सकिने मिति तोकिन्छ त?

'

औषधिको एक्सपायरी भन्नाले औषधिको म्याद सकिने मिति भन्ने हो। जसरी हाम्रो खाने कुरामा “वेस्ट बिफोर” भनेर एउटा मिति तोकिन्छ ठिक त्यसरी नै औषधिमा भने म्याद सकिने मिति (EXPIRY Date) दिइएको हुन्छ। औषधि एउटा रासायनिक पदार्थ हो। कुनै पनि रासायनिक वस्तुमा थोरै थोरै मात्रामा रासायनिक परिवर्तन आउने गर्दछ। हामीले प्रयोग गर्ने औषधिमा पनि थुप्रै किसिमका रासायनिक परिवर्तन आउँछ। कुनै पनि औषधिको मुख्य तत्त्वको प्रभाव (assay) ९०% भन्दा तल झर्ने समयलाई नै म्याद सकिने मिति भनेर राखिन्छ। सामान्यतया  औषधिको म्याद सकिने मिति डेढ वर्ष, दुई वर्ष, तीन वर्ष वा पाँच वर्ष भनेर तोकिएको हुन्छ। औषधिको म्याद सकिने मिति लेख्नै पर्ने बाध्यात्मक नियम कहिले देखि लागेको होला।  हामीलाई लाग्दछ जब देखि यसरी औषधि बन्न थाल्यो तब देखि नै होला, तर सो नियम अमेरिकाको एफडीए (US -FDA ) ले  बाध्यात्मक बनाएको भने सन् १९७९ देखि मात्र हो।  

'

औषधीको म्याद सकिने मिति फरक किन हुन्छ त भन्दा, ट्याब्लेट र केही हद सम्म क्याप्सुलमा पानीको मात्रा कम हुन्छ, त्यसैले त्यस्ता औषधीको एक्सपायरी पनि अलि लामो समय हुन्छ, अनि झोल औषधिमा पानी धेरै भएकाले सो पानीले नै रासायनिक प्रतिक्रिया अगाडि बढाउँछ र त्यस्ता औषधिको म्याद कम हुन्छ। कुनै औषधि को आफ्नै गुणका कारण पनि एक्सपयारी कम बढी हुन सक्दछ। स्ट्याविलिटी टेस्ट (सामान्य तापक्रम र आद्रतामा गरिने) र एस्सलरेटेड स्ट्याविलिटी टेस्ट (उच्च तापक्रम र आद्रतामा गरिने ) बाट त्यो समयको निर्धारण औषधि कम्पनीले तय गरेका हुन्छन् र सो कुराको अनुमति आफ्नो देशको औषधि व्यवस्था विभागबाट लिएका हुन्छन्।

'

कुनै पनि औषधिमा ९०% औषधिले काम गर्नु भनेको ठिकै जस्तो लाग्न सक्छ तर त्यो भनेको १०% औषधिमा चाहिँ रासायनिक परिवर्तन भयो भन्ने हो। औषधिमा १०% रासायनिक परिवर्तन भएपछि सो औषधि प्रयोग गर्नु हुँदैन। किन कि त्यो परिवर्तित रासायनिक पदार्थ मानव स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ। मानिसले औषधिको प्रयोग नै बिरामी हुँदा अथवा शारीरिक अवस्था कमजोर हुँदा गर्ने हुनाले म्याद सकिएको औषधिको प्रयोग गर्नु उपयुक्त हुँदैन। म्याद सकिएका औषधि जथाभावी फाल्नु हुँदैन र त्यसको उचित व्यवस्थापन गर्नु पर्दछ। म्याद सकिएका औषधिको उचित व्यवस्थापन कसरी गर्ने भन्ने लेख म चाडै नै यहाँहरू सामु प्रस्तुत गर्नेछु। औषधिमा हुने रासायनिक परिवर्तनहरू यस प्रकारका छन्- अक्सिडेसन्, रीडक्सन, हाईड्रोलाईसिस, साईक्लाईजेसन, डि-साईक्लाईजेसन, पोलीमराईजेसन्, आदी। यी सबै परावर्तन एकै दिन वा अन्तिम एक मिनेटमा आउने परिवर्तन भने होइन। यस्ता परिवर्तन दैनिक रूपमा आईरहन्छ।

'

अनि यहाँहरुले याद गर्नु भएको छ भने, औषधि घाम नलाग्ने र सुख्खा ठाउँमा राख्न भनिएको हुन्छ। त्यो किन भन्दा माथि उल्लेखित रासायनिक परिवर्तन तातो र ओस लाग्ने ठाउँमा चाँडै हुन्छ। त्यसैले औषधिमा लेखे बमोजिम भण्डारण गर्ने हो भने, त्यहाँ लेखिएको म्याद सम्म ढुक्क भएर सो औषधिको प्रयोग गर्न मिल्छ। पहिले पहिले नेपालका अस्पतालमा फार्मेसीहरू टिनका पाताका छाना भएका हुन्थे, त्यस्ता घामले तातिने कोठा औषधिका लागि उपयुक्त होइनन्। अहिले आएर सो कुरामा केही परावर्तन आएको छ। फार्मेसी पनि अस्पतालको अभिन्न अङ्ग हो भन्ने कुरामा ध्यान पुगेको छ र त्योसँगै फार्मेसी सेवा पनि अस्पताल भित्रबाट नै सञ्चालन हुन थालेको छ। अझ भन्ने हो भने धेरै जसो खोप चिसोमा नै राख्नु पर्दछ। चिसो भन्नाले २ देखि ८ डिग्री सेन्टिग्रेड हो। यस्ता औषधिको भण्डारणमा “कोल्ड चेन” कायम भएन भने यी औषधिहरू प्रभावकारी नहुन पनि सक्दछन्।

'

माथि भनिए जस्तै हिजो सम्म खान हुने औषधि आज खानै नहुने होइन तर त्यो समय भन्दा पछि खाँदा स्वास्थ्यमा खराबी गर्न सक्छ। त्यसैले सके सम्म औषधि प्रयोग गर्दा तोकिएको मिति भन्दा पछाडि नगर्नु नै राम्रो। तर तपाईँले केही गरी नियमित प्रयोग गर्ने औषधि नयाँ लिन बिर्सनु भएको छ भने औषधि नै नखानु भन्दा घरमा भएको भर्खरै म्याद सकिएको औषधि प्रयोग गर्नु राम्रो हो। औषधि नै प्रयोग नगर्दाको हानि भन्दा भर्खरै म्याद सकिएको औषधि प्रयोग गर्दाको हानि कम हुन्छ।

'

यहाँहरुले औषधि खरिद गर्दा आफैले पनि एक्सपायरी कहिले रहेछ हेर्ने बानी बसाल्नु होला। यदि लामो समय सम्म खानु पर्ने औषधि किन्दै हुनुहुन्छ भने भर्खरै बनेको किन्ने गर्नु भयो भने औषधि प्रयोग गर्दागर्दै सो औषधिको म्याद सकिने डर हुँदैन। औषधिको भण्डारण सही तरिकाले गरिएन भने चाडै बिग्रने हुँदा  यहाँहरूले औषधिको भण्डारणमा ध्यान पुर्‍याउनु होला।

'

लेख:
संजय मणि दीक्षित
सहायक प्राध्यापक (फार्माकोलोजी)

काठमाडौं मेडिकल कलेज

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.