समाचार

वीपी प्रतिष्ठानकाे अक्सिजन प्लान्ट बिग्रियाे, शल्यक्रिया सेवा अवरुद्ध

सुनसरी — वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अक्सिजन प्लान्ट आइतबार राति ११ बजेदेखि बिग्रेर अक्सिजन उत्पादन गर्न नसकेपछि बिरामीको शल्यक्रिया तत्कालका लागि बन्द गरिएको छ । प्रतिष्ठानका चारवटा अप्रेसन थिएटरमा जाने अक्सिजन पाइपलाइनको मुख्य पाइपलाइनबाटै अक्सिजन आपूर्ति नभएपछि बिरामीको अप्रेसन हुन नसकेको हो  ।

प्रतिष्ठानमा माइनर र मेजरगरी दैनिक ७० देखि ८० वटा अप्रेसन हुने गरेको छ। तर यसपटक आफ्नै अक्सिजन प्लान्टमा एक्कासि खराबी आएपछि अप्रेसन गर्न थिएटरमा छिराइसकिएका बिरामीकोसमेत अप्रेसन रद्द गरिएको प्रतिष्ठान स्रोतले जनाएको छ। आकस्मिक कक्षमा र सघन उपचार कक्षमा भने अक्सिजन सिलिन्डर राखिएका छन्।

प्रतिष्ठानजस्तो दैनिक ३५ सय बिरामी उपचारका लागि आउने, हजार बढी शैयामा बिरामी भर्ना गरेर उपचार हुने स्वास्थ्य संस्थामा अक्सिजन प्लान्टकै कारण अप्रेसन रोकिएको प्रतिष्ठान स्थापनायताको यो पहिलो घटना हो। ०६२/०६३ को जनआन्दोलन हुँदा पनि प्रतिष्ठानमा अप्रेसन थिएटर खाली राखिएको थिएन।


प्रतिष्ठानका सर्जिकल विभागका प्रमुख डाक्टर राकेश गुप्ताले भने, ‘अप्रेसन गर्ने बेलामा अक्सिजन आपुर्ति नभएपछि अधिकांश बिरामीको अप्रेसन समय पोस्टपोन्ड गर्नुपरेको छ। प्रतिष्ठानले अक्सिजनको व्यवस्था गरेपछि फेरि अप्रेसन थिएटर चालु हुन्छ।’ अर्का एक चिकित्सकले अप्रेसन थिएटरमा बिरामीका लागि अनिवार्य आपुर्ति गर्नुपर्ने अक्सिन नै रोकिएलगतै अस्पताल प्रशासनले वैकल्पिक व्यवस्था गर्नुपर्नेमा त्यो पनि गर्न नसकेको बताए। ती चिकित्सकले भने, ‘हामी त चिकित्सक मात्र हौं। तर बिजुली, पानी, अक्सिजनजस्ता आवश्यक प्राविधिक विषयको उपचार त गर्न सक्दैनौं नि। अस्पताल व्यवस्थापन गर्न भनेर पदाधिकारीहरु छन्। हजारजना बढी त कर्मचारी मात्र छन्। विद्युत हेर्ने, तथ्यांक हुर्ने, कर्मचारी हर्ने, भौतिक पूर्वाधार हेर्ने, मेडिकल उपकरण हेर्ने विभागहरु छन्। तर खै के हेरेर बस्छन् थाहा छैन।’

अप्रेसन थिएटर नै बन्द भएपछि बिरामी र उनीहरुका आफन्तले चिकित्सकहरुलाई बारम्बार फोन गरेर तनाव दिएको अर्का चिकित्सकले बताए। अक्सिजनले भरिएको सिलिन्डर राखेर पनि अप्रेसन गर्नुपर्ने विकल्प छ। तर प्रतिष्ठानले अक्सिजन सिलिन्डरसमेत पर्याप्त नराखेकाले मुख्य अप्रेसन थिएटरमा बिरामीको अप्रेसन गर्न नसकिएको चिकित्सकहरुले बताए।


भारतको दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युट मेडिकल साइन्सको मोडल अनुसार प्रतिष्ठान स्थापना भएपनि व्यवस्थापन पक्ष र सरकारले प्राथमिकतामा नराखेपछि प्रतिष्ठानमा मेडिकल उपकरण बिग्रीरहने, अत्यावश्यक अक्सिजन प्लान्ट, सीटी स्क्यान, एमआरआई, भिडियो एक्सरे मेसिनमा खराबी आइरने गरेको चिकित्सकहरुले बताएका छन्। कान्तिपुरदैनिकबाट

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.