समाचार

अफ्रिकी राष्ट्रहरूमा औलो बिरुद्ध खोप

अहिले संसारमा पहिलो पटक औलो रोगका लागि खोप आएको छ । जी एस के नामक कम्पनीले निकालेको यस खोपको नाम RTS,S/AS01 (RTS,S) रहेको छ । सन् २००९ देखि २०१४ सम्म ७ देशका १५००० बालबालिकामा गरिएको ५ वर्ष लामो प्रारम्भिक अनुसन्धानमा यस खोपले साना बालबालिकाहरूमा औलो रोग लाग्न बाट जोगाउने देखिएको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले केही अन्य निकाय सँग सहकार्य गर्दै अहिले घाना, मलावी र केन्यामा औलो खोपको प्रयोग गर्दै छ । यस खोपले प्लास्मोडियम फ्याल्सिप्यारम नामक जीवाणुले गर्दा लाग्ने औलोलाई कम गर्ने बताइएको छ । प्लास्मोडियम फ्याल्सिप्यारमले गर्दा लाग्ने औलो सबै भन्दा खतरनाक किसिमको हुने र अफ्रिकी मुलुकमा सबै भन्दा बढी देखिने भएकाले पनि अहिले प्रारम्भिक प्रयोग ति अफ्रिकी राष्ट्रहरूमा भएको हो। कुनै पनि रोगको औषधि अथवा खोप को प्रारम्भिक प्रयोग भनेको त्यो रोग बढी हुने ठाउँमा नै गर्ने हो। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार अफ्रिकामा हरेक वर्ष २ लाख ५० हजार बालबालिकाले औलोका कारण ज्यानै गुमाई रहेका छन्।

त्यसै कारणले गर्दा अहिले ती देशहरूमा उक्त खोप दिन थालिएको हो। अहिले सुरु सुरु मा हरेक वर्ष ३,६०,००० बच्चाहरूलाई यो खोप दिने सोच बनाएर अघि बढेको उनीहरू बताउँछन्। यो अभियान गत वर्षको अप्रिल महिनामा सुरु गरिएको थियो। यस औलो खोप अभियान सँगै विश्व स्वास्थ्य सङ्गठनले झुल र लामखुट्टे मार्ने कीटनाशकको पनि प्रयोग गर्दै छ।

यो खोपले प्रभावकारी रुपमा काम गर्न एक जना बच्चालाई चार चोटी खोप दिनु पर्ने छ। एकै रोगको लागि चारचोटी सम्म खोप  दिन सजिलो हुँदैन तर अहिलेसम्म अरू खोप  नआइसकेको हुँदा यसको प्रयोगले औलो रोग कति सम्म कम गर्न सकिन्छ भनेर विज्ञहरु यसलाई राम्रो सँग नियाली रहेका छन् ।

नेपालमा देखिने औलो प्राय जसो प्लास्मोडियम भाईभ्याक्सले गर्दा लाग्ने र त्यो धेरै खतरनाक नहुने विज्ञहरू बताउँछन् । नेपालमा प्लास्मोडियम फ्याल्सिप्यारमले फैलाउने औलो १५% मात्र रहेको तथ्याङ्कले देखाउँछ। अहिले प्रयोगमा आइरहेको खोप धेरै राम्रो साबित भएमा हामी नेपालीका लागि पनि त्यो लाभदायी हुन सक्छ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.