समाचार

हिटर र गिजरले ज्यान लेला !, कसरी जोगिने ?

काठमाडौँ — जाडोमा पानी तताउन बाथरुममा राखिएका ग्यास गिजर वा कोठा तताउन प्रयोग गरिने हिटरलगायतले सर्वसाधारण बिरामी पर्ने र ज्यानसमेत जान सक्ने भन्दै विशेषज्ञले सावधानी अपनाउन आग्रह गरेका छन् । गिजर प्रयोग गरेर नुहाउँदा गत शनिबार ललितपुरमा एक जनाको र कोठाभित्र कोइला बालेर सुत्दा तीन साताअघि कीर्तिपुरमा दुईको मृत्यु भएको थियो ।

गिजर र हिटर प्रयोग गर्दा उत्पन्न हुने आगोले कोठामा अक्सिजनको खपत बढी हुन्छ र कार्बन डाइअक्साइडको मात्रा बढ्छ । यही क्रममा कार्बन मोनोअक्साइडसमेत बन्छ । रङ र गन्धहीन कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु हुने गरेको छ ।

ललितपुरको एक गर्ल्स होस्टेलको बाथरुममा ग्यास गिजर प्रयोग गरी गत शनिबार नुहाइरहेकी १६ वर्षीया किशोरी एक्कासि बेहोस भएकी थिइन । उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । तीन साताअघि कीर्तिपुर–८, सुन्दरबस्तीमा कोठामा कोइला बालेर सुत्दा ३६ वर्षीय महिला र उनको दुई महिने छोराको निसास्सिएर मृत्यु भएको थियो भने श्रीमान्लाई अस्पतालमा लगेर उपचारगर्नुपरेको थियो ।


नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीका अनुसार जाडोयाममा यस्ता घटना बर्सेनि हुने गरेको छ । हावाको ओहोरदोहोर राम्ररी नहुने कोठामा ग्यास गिजर, खाना पकाउने ग्यास, स्टोभ प्रयोग गर्दा र आगो बाल्दा दुर्घटनाको सम्भावना बढ्छ । पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले हिटर, गिजर बाल्दा निस्कने विषाक्त कार्बन मोनोअक्साइड ग्यासका कारण बिरामी भई उपचारका लागि अस्पताल आउने क्रम बढेको बताए । ‘यो पुस लागेयता १० जना ग्यास गिजर र रुम हिटरले गर्दा कार्बन मोनोअक्साइड विषाक्तताको सिकार भएर उपचारार्थ आएका छन्,’ नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी मेडिसिनका विशेषज्ञ डा. अभिजित अधिकारीले भने । मंसिरमा त्यस्ता २५ जना बिरामी अस्पताल आए । राम्ररी हावा ओहोरदोहोर नहुने कोठामा दाउरा, गुइँठा, ग्यास, मट्टीतेल, बिजुली आदि कुनै पनि तरिका अपनाएर न्यानोका लागि आगो बाल्दा यसबाट निस्किने धूवाँमा कार्बन मोनोअक्साइड ग्यास हुन्छ ।


‘कार्बन मोनोअक्साइड विषाक्तताबाट पीडित सबैजसोमा टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखिने गरेको छ,’ डा. अधिकारीले भने, ‘केहीबेर बेहोस भएर आएका दुई जनालाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो भने बाँकीलाई दुईदेखि तीन दिनसम्म भर्ना गर्नुपरेको थियो ।’


कार्बन मोनोअक्साइड विषाक्तताबाट पीडितहरूको एट्रिय ब्लड ग्यास (एबीजी) परीक्षण गर्दा रगतमा कार्बन मोनोअक्साइडको मात्रा २५ प्रतिशतसम्म भेटिएको जानकारी उनले दिए । रगतमा कार्बन मोनोअक्साइडको मात्रा ३–४ प्रतिशत हुनुलाई सामान्य मानिए पनि काठमाडौंको प्रदूषणले गर्दा यो मात्रा ६–७ प्रतिशतसम्म हुनुलाई सामान्य रूपमा लिने गरिएको छ ।‍‍


लक्षण :

  1. टाउको दुख्ने
  2. वाकवाकी लाग्ने
  3. रिंगटा लाग्ने‍

कसरी जोगिने ?

  1. ग्यास गिजरको मुख्य मेसिनलाई बाथरूम बाहिर खुला ठाउँमा जडान गर्ने ।
  2. पाइपको माध्यमले तातो पानी बाथरूममा ल्याउने ।
  3. सानो र हावा ओहोरदोहोर नहुने कोठामा आगो नबाल्ने ।

कान्तिपुर दैनिकबाट

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.