समाचार

जिम गर्नेलाई ढाडको नसा च्यापिने समस्या हुन सक्छ

विश्वमा लाखौं मानिस ढाडको समस्या लिएर अस्पताल पुग्ने गरेका छन् । मेरुदण्डमा हुने हाड र मांसपेशीका कारण ढाडको समस्या आउने गर्छ । ढाड दुख्ने समस्याको मुख्य कारण ढाडको नसा च्यापिनु रहेको डा. विप्लव सापकोटा बताउँछन् । उनका अनुसार ६० देखि ८० प्रतिशत ढाडको समस्या मेरुदण्डको नसा च्यापिएर हुने गर्छ, जसले हातखुट्टामा विभिन्न समस्या ल्याउँछन् । प्रस्तुत छ, ढाडको दुखाइ, ढाडको नसा च्यापिने रोग, कारण, उपचार, बच्ने उपाय आदि विषयमा हाड तथा नसा रोग विशेषज्ञ डा. सापकोटासँग गरेको कुराकानीको सार :

ढाड दुख्नुको कारण के हो ?
ढाड दुख्नुका धेरै कारण छन्, जसमध्ये ढाडको नसा च्यापिनु एक मुख्य कारण हो । ढाड दुखाइको ६० देखि ८० प्रतिशत समस्या नसा च्यापिनाले हुन्छ ।

ढाडको नसा किन च्यापिन्छ ?
मेरुदण्डका प्रत्येक हड्डीको बीचमा एउटा कालो डिस्क हुन्छ, जुन तरल पदार्थ हो । कुनै कारण उक्त डिस्क बाहिर निस्कियो भने नसा च्यापिने गर्छ । मुख्यतः उमेर बढ्दै जाँदा डिस्क खिइएर र प्रौढावस्थामा गलत तरीकाले काम गर्दा ढाडको नसा च्यापिन्छ । जस्तै, हड्डी खिइएर, चोटपटक लागेर, संक्रमण भएर, ढाड सड्किएर, गह्रौं सामान उठाउँदा, लामो समयसम्म एकै ठाउँमा बसिरहँदा, शारीरिक व्यायामको अभाव आदि कारण ढाडको नसा च्यापिन्छ । 

नसा च्यापिँदा के कस्ता समस्या देखिन्छन् ?
डिस्क बाहिर निस्कियो भने मुख्यतः यसले गर्ने असर दुखाइ हो । यसबाहेक कमजोरी, हात खुट्टा चलाउन गाह्रो हुने, छोएको थाहा नहुने, दिशा पिसाब भएको थाहा नहुने, मांसपेशी कमजोर हुने, हातखुट्टा झमझम हुने, हातखुट्टामा करेन्ट फैलिए जस्तो हुने जस्ता समस्या देखिन्छन् । मेरुदण्डको हड्डी चलाउन भित्र जोर्नीहरू हुन्छन् । 

ढाडको नसा च्यापिएको उपचार कसरी हुन्छ ?
डिस्क कति बाहिर निस्किएको हो, त्यस अनुसार रोगको उपचार गरिन्छ । सामान्य अवस्थामा औषधिले केही हदसम्म यो समस्या कम गर्छ । तर औषधिले मात्र यसलाई निर्मूल नपार्न सक्छ । यदि नसा आधामात्र बाहिर निस्किएको अथवा च्यापिएको छ भने त्यसलाई फिजियोथेरापीद्वारा निको पारिन्छ, जुन पहिलो तथा दोस्रो अवस्था हो । डिस्क बाहिर निस्किएर नसा च्यापिएको अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन्छ । कतिपय मानिस एक्सरे गरेर ढाडको नसा च्यापिएको रहेनछ भन्ने सोचेर उपचार नै नगरी पनि बस्ने गरेका छन् । तर वास्तवमा एक्सरेले नसा च्यापिएको थाहा नै नहुन सक्छ । नसा च्यापिएको थाहा पाउन एमआरआई गर्नैपर्छ । एमआरआईपछि रोग पत्ता लागेर कतिपयमा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ । खुट्टा कमजोर भयो, दिशा पिसाब भएको थाहा हुन थालेन भने शल्यक्रिया गरेर डिस्क निकालेर फाल्नुपर्छ । माइक्रोस्कोपले सानो १ दशमलव ५ सेन्टिमिटरको प्वाल बनाई यन्त्रको सहायताले र दोस्रो खुला शल्यक्रिया गर्न सकिन्छ । 

नसा च्यापिने रोगको जोखिम कसलाई हुन्छ ?
सबैभन्दा बढी जोखिम युवावस्थामा हुन्छ । २० देखि ५० वर्षको सक्रिय उमेर समूहका मानिसमा ढाडको नसा च्यापिने रोग बढी देखिन्छ । पछिल्लो समय एकै ठाउँमा लामो समयसम्म बसिराख्ने, निहुरिएर बढी काम गर्ने, वजनदार वस्तु उचाल्ने, जिम गर्ने मानिसमा ढाडको नसा च्यापिने रोग बढी देखिएको छ । 

सबैभन्दा बढी कस्ता व्यक्ति ढाडको समस्या लिएर आउने गरेका छन् ?
सामान्यतया सबैभन्दा बढी जिम गर्ने मानिसहरू ढाडको समस्या लिएर आउने गरेका छन् । गह्रौं वस्तु उठाउने, एक्कासि सामान उठाउने, ढाडलाई बढी चाप पर्नेगरी जिम गर्ने आदि कारण यसको नसा च्यापिन सक्छ । यसबाहेक कार्यालयमा धेरै समयसम्म बसेर काम गर्ने, सेक्युरिटीमा काम गर्ने मानिस ढाडको समस्या लिएर आउने गरेका छन् ।

ढाडको नसा च्यापिने रोगबाट कसरी बच्न सकिन्छ ? 
गह्रौं सामान नउठाउने, एकै ठाउँमा लामो समयसम्म नबस्ने, नियमित सामान्य व्यायम गर्ने, बढी व्यायाम नगर्ने, निहुरिएर काम नगर्ने, धूमपान र ‘जंकफूड’ सेवन नगर्ने आदि उपाय अपनाउँदा यसको समस्याबाट बच्न सकिन्छ । 

ढाडको नसा च्यापिएको रोगको उपचारपछि पनि पुनः समस्या देखिन सक्छ ?
पहिलो र दोस्रो अवस्थामा नियमित फिजियोथेरापी गरेर डाक्टरको सल्लाहअनुसार काम गर्‍यो भने यो बल्झिने सम्भावना न्यून हुन्छ । तर तेस्रो अवस्थाका केही बिरामीमा पुनः नसा च्यापिने रोग बल्झिन सक्दछ ।  यसलाई बल्झिन नदिन ढाडको नसा च्यापिएका बिरामीले निहुरिएर काम गर्नुहुँदैन, बसेर नुहाउनुपर्छ, ढाड सड्किने गरी गह्रौं सामान उठाउनु हुँदैन । डाक्टरको नियमित सल्लाहमा बस्नुपर्छ र डाक्टरको सल्लाह अनुसार काम गर्नुपर्छ । 

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.