समाचार

इन्फिल्ट्रेशन र एक्स्ट्राभ्यासेशन भएमा के गर्ने ?

प्राय आम स्वाथ्यकर्मीहरूलाई  आई भी औषधि दिँदा "इन्फिल्ट्रेशन" ("infiltration") हुन सक्छ भन्ने कुरा को ज्ञान हुन्छ। तर धेरैलाई कस्ता औषधिमा यस्तो समस्या बढी देखिन्छ भन्ने ज्ञान भने नहुन पनि सक्छ। "इन्फिल्ट्रेशन"ले गर्दा के कस्ता समस्याहरु देखा पर्छन् भन्ने जानकारी नहुन पनि सक्छ। आउनुहोस् इन्फिल्त्रेशन र एक्स्ट्राभ्यासेशन (extravasation)बारे केहि चर्चा हेरौं।

"इन्फिल्त्रेशन र एक्स्ट्राभ्यासेशन" दुवै आई भी औषधि दिँदा औषधि नसामा नगई नसा बाहिर पुग्न जाने अवस्था हुन् । कहिलेकाहिँ आई भी दिँदा औषधि चुहावट भएर पनि नसा बाहिर जानसक्छ र यो पनि  इन्फिल्ट्रेशन कै अवस्था हो ।  इन्फिल्त्रेशनमा नसा  वरिपरी  पानीको फोका जस्तो देखा पर्दैन । तर, त्यसको असरको रुपमा पानीको फोका जस्तो (ब्लिस्टर) देखा पर्यो भने त्यसलाई चाहिँ  एक्स्ट्राभ्यासेशनमा भनिन्छ ।

क्यानुला हाल्दा नसासम्म  पुगेन भने नसा सुन्निने, रगत जम्ने जस्ता समस्या देखिन सक्छ।  नसामा दिन खोजिएको औषधि कारणवस नसा बाहिर पर्न जाँदा,  नसा वरिपरीको टिस्युमा औषधि पुग्छ अनि त्यसले क्षति गराउछ। सो स्थानमा दुख्ने, घाउ देखा पर्ने, पोल्ने, त्यहाँ भएका सेलहरु मर्ने, रक्तसंचार कम हुने, चिसो महसुस हुने र जलेको घाउ जस्तै गरि उप्कने गर्दछ।

एक्स्ट्राभ्यासेशन कस्ता औषधिमा बढी देखिन्छ?

एक्स्ट्राभ्यासेशनको सबैभन्दा बढी जोखिम क्यान्सरको औषधिको प्रयोग गर्दा हुने गर्दछ। तर, अन्य औषधिको प्रयोग गर्दा पनि एक्स्ट्राभ्यासेशन भने हुन सक्छ।  एक्स्ट्राभ्यासेशन गर्ने औषधिहरु धेरै नै छन्, फेनाईटोईन (Phenytoin), नरएडरेन्यालिन (Noradrenaline), फेनाईलएफरिन (Phenylephrine), पोटास्सियम क्लोराईड (Potassium chloride), भ्यानकोमाईसिन (Vancomycin) केहि उदाहरणहरू हुन् ।

एक्स्ट्राभ्यासेशनको प्रभाव केमा भर पर्छ?

एक्स्ट्राभ्यासेशनले गर्दा के कति खराब गर्छ त भन्ने कुरा कुन औषधिको प्रयोग भएको छ, कति मात्रामा औषधि नसा बाहिर पुगेको छ र कति लामो समयसम्म एक्स्ट्राभ्यासेशन भयो भन्ने कुरामा भर पर्दछ।

एक्स्ट्राभ्यासेशनले धेरै खराबी कस्तो बिरामीमा गर्न सक्दछ?

बोल्न नसक्ने मानिस र बच्चाहरूमा यसले बढी हानी पुर्याउन सक्छ। बृद्ध मानिस जसको छाला र नसा कमजोर भएका छन् त्यस्तालाई यसले ठुलो असर पुर्याउन सक्छ । त्यसैगरि निन्द्रा लाग्ने औषधि दिईएका बिरामी, पेरिफेरल न्युरोप्याथी भएका मधुमेयका बिरामी जस्ता दुखाईको आभास नहुने रोग लागेका बिरामीहरुमा यसको खतरा हुन्छ। आई  भी क्यानुला हाल्न दिन नमानिरहेका मानिस जसले गर्दा क्यानुला नसा बाहिर निक्लिएको हुनसक्छ त्यो अवस्थामा पनि एक्स्ट्राभ्यासेशन देखिन सक्छ । कुनै कारणले गर्दा नसा साना भएका मानिसमा पनि यसको सम्भावना बढी हुन्छ ।

एक्स्ट्राभ्यासेशन भएपछि के गर्ने ?

एक्स्ट्राभ्यासेशन भएको थाहा भएपछि कुन औषधिको कारण भएको हो, सोही अनुसार बिरामीको उपचार गर्नुपर्ने हुन्छ। कुनै बेलामा एक्स्ट्राभ्यासेशन भएको देखिएको खण्डमा पहिले त सो औषधि दिन सकेसम्म बन्द गर्ने र सकभर अर्को ठाउँबाट औषधि दिने गर्नुपर्छ। कुनैबेला त्यस्तो ठाउँमा तातोले सक्नु पर्छ भने कुनै बेलामा चिसोले, यो पनि प्रयोग भएको औषधिको आधारमा नै भर पर्दछ। तातोले सेक्दा रगतको प्रबाह बढ्छ र सो औषधि उक्त ठाउँबाट रगतमा पुग्दछ। चिसोले सेक्दा ठिक उल्टो रगतको प्रबाह घट्छ र यसरी चोट/घाउ  फैलन पाऊदैन।

एक्स्ट्राभ्यासेशन हुन  नदिन के गर्ने ?

कुनै पनि नसा खुम्चाउने औषधि र जलन गर्ने औषधि दिनुभन्दा अगाडि सो औषधिको एन्टिडोट छ वा छैन भन्ने कुरामा ध्यान दिनु पर्दछ। अनि हात वा खुट्टा खुम्चिने ठाउँमा क्यनुला हाल्नु हुदैन। पाखुराको नसा यस्ता औषधि दिनका लागि उत्तम ठाउँ मानिन्छ।

एक्स्ट्राभ्यासेशन भएको खण्डमा के गर्ने ?

एक्स्ट्राभ्यासेशनले निम्त्याएको समस्यालाई कम गर्ने वा निको पार्ने औषधिकै रुपमा भने केही औषधिले मात्र बैधानिकता पाएका छन् । त्यस्ता औषधिमा ह्यालुरोनाईडेज (Hyaluronidase), डाईमिथाइल सलफोक्साइड (DMSO) र सोडियम थायोसल्फेट (Sodium Thiosulfate), डेक्सराजोकसेन (Dexrazoxane) आदि पर्छन् । धेरै नै छाला डढेको वा निको नभइरहेको घाउ छ भने त्यस स्थानको सर्जरी पनि गर्नुपर्ने हुन सक्दछ।

एक्स्ट्राभ्यासेशन हुने अवस्था र त्यसको निदानबारे जान्नु आवश्यक छ नै संगसंगै यस्तो अवस्था उत्पन्न गराउन सक्ने खालका औषधिको प्रयोग गर्दा सजकता अपनाउनु पनि उत्तिकै जरुरी हुन्छ ।

लेख: डा. ज्योती प्रभा भारती

फ्याकल्टी अफ् फार्माकोलोजी

काठमाडौँ मेडिकल कलेज


Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.