समाचार

नकारात्मक असर गर्छ भन्ने थाह हुँदाहुँदै पनि त्यस्ता एन्टिबायोटिक प्रयोग गर्नु पर्ने बाध्यता छ

काठमाडैं । गत हप्ताबाट सुरु भएको एन्टिबायोटिक जागरुक्तता सप्ताह आज सम्पन्न भएको छ । प्रस्तुत छ उक्त अवसरमा एन्टिबायोटिक, एन्टिबायोटिक प्रतिरोध साथै एन्टिबायोटिकसँग सम्बन्धित रहेर फार्माकोलोजीका डा. विनय श्रेष्ठसँग हेल्थ सरकारले गरेको कुराकानी ।


१. के हो त एन्टीबायोटिक भनेको?
उत्तरः
एन्टिबायोटिक भनेको हामी सरुवा रोग लागेर बिरामी पर्दा प्रयोग गरिने एक प्रकारको औषधि हो । हुन त, सरुवा रोग धेरै किसिमका हुन्छन् तर ती मध्य धेरै जसो चाहिँ ब्याक्टेरियाले गर्दा हुने गर्दछ । एन्टिबायोटिक त्यस्ता रोगहरू लागेमा प्रयोग गरिने गर्दछ ।

२. पहिलो एन्टिबायोटिक कहिले पत्ता लागेको हो ?
उत्तरः
सन् १९२८मा सर एलेकजेन्डर फ्लेमिङले अरु नै कुनै कुराको अनुसन्धान गरिरहेको क्रममा उनले बेन्जाइल पेनीसिलिन् पत्ता लगाएका हुन् । उक्त पेनीसिलिन् पेनीसिलियम नोटेटम नामक एक प्रकार को फंगासबाट निस्किएको हो ।

यसरी सन् १९२८ मा नै पत्ता लाएको एन्टिबायोटिकको पहिलो पटक प्रयोग हुन भने निकै नै समय लागेको थियो । जसलाई ११ वर्ष पछि सन् १९४० तिर आएर मात्र यो पहिलो पटक प्रयोग गरियो ।

३. नेपालमा बिरामीहरूमा एन्टीबायोटिकको प्रयोग कत्तिको हुने गरेको छ?
उत्तरः
नेपाल एउटा विकाशोनमुख राष्ट्र हो । यहाँ सरुवा रोगको प्रकोप केही बढी नै छ । त्यसैले पनि एन्टीबायोटिकको प्रयोग अलि बढी नै भएको पाइन्छ । हामीले २/३ वर्ष पहिले काठमाडौँको एक अस्पतालमा गरेको अनुसन्धान अनुसार बिरामी भएर अस्पतालमा भर्ना भएका बिरामीहरूमा ६४ प्रतिशतमा एन्टीबायोटिकको प्रयोग भएको थियो ।

त्यस अनुसन्धानले पनि एन्टीबायोटिकको प्रयोग बढी नै भएको देखाउँछ । हो, अस्पतालमा भर्ना हुने बिरामी अलि गम्भीर किसिमका हुन्छन् र त्यही कारणले गर्दा एन्टीबायोटिकको प्रयोग बढी भएको हो तर यति धेरै चाँहिनहुनु नै पर्ने हो ।

४. एन्टिबायोटिक प्रतिरोध भनेको के हो ?
उत्तरः
एन्टिबायोटिकको प्रयोग गर्दै जाँदा कीटाणुहरूले पनि आफुलाई जीवित राख्न प्रयास गर्छन् । जसोका लागि उनीहरूले आफूमा एन्टिबायोटिकसँग लड्न सक्ने क्षमता (एन्टिबायोटिक प्रतिरोधी क्षमता) को विकास गर्दै जान्छन् । जसलाई नै हामी एन्टिबायोटिक प्रतिरोध भनेर बुझ्छौ ।

जति कीटाणुमा एन्टिबायोटिक प्रतिरोधी क्षमता बढ्न थाल्यो त्यति नै त्यसले हाम्रो शरीरलाई हानी बढी पुर्‍याउन थाल्छ । एन्टिबायोटिकले काम गर्न छाड्छ । जसले उपचारमा पनि असर गरिरहेको हुन्छ ।


५. यो किन संसारकै लागि महत्त्व राख्दछ ?
उत्तरः
एन्टिबायोटिक प्रतिरोधले संसारकै लागि महत्त्व राख्दछ किन भने यो जीवणुहरु लाई कुनै सिमानाले रोक्न सक्दै । एउटा ठाउँमा सीमित रहँदैन । मानिसको आवत जावतसँगै सरुवा रोगहरू पनि एक स्थानबाट अर्को स्थानमा सजिलै जाने गर्दछ । जसले गर्दा एन्टिबायोटिक प्रतिरोध संसारकै लागि महत्तव राख्ने गर्दछ । बिरमीहरुलाई दिइने एन्टिबायोटिक चाहिने भन्दा बढी मात्रामा प्रयोग गरियो भने आवश्यक परेको अवस्थामा एन्टिबायोटिकले काम नगर्न सक्छ । जसले गर्दा पनि यसले संसारमै महत्त्व राख्ने गर्दछ ।

६.के एन्टिबायोटिक प्रतिरोध को स्थिति साँचै नै भयाबह बन्दै गएको हो त?
उत्तरः
हो, एन्टिबायोटिक प्रतिरोधको स्थिति भयावह नै बन्दै गएको छ । एन्टिबायोटिक प्रतिरोध कै कारण कतिपय निको हुनुपर्ने रोग नियन्त्रण गर्न जटिल बन्दै गएका छन् । टि बि, अनि निमोनिया जस्ता रोग जुन अहिलेको जमानामा सजिलै निको हुनु पर्ने हो । त्यस्ता रोग लाग्दा समेत मान्छेले ज्यानै गुमाई रहेका छन् । एनआइसियुमा धेरै बच्चाहरूको मृत्यु हुनुको प्रमुख कारण पनि एन्टिबायोटिक प्रतिरोध भएको पाइन्छ ।

७. एन्टिबायोटिक प्रतिरोधले गर्दा बिरामीको उपचारमा के प्रभाव परेको छ होला?
उत्तर:
एन्टिबायोटिक प्रतिरोधले गर्दा अघि मैले भनेको झैँ उपचारमा धेरै नै प्रभाव परेको छ । सजिलै निको हुने रोगहरू जटिलबन्दै गएका छन् । धेरै रोगको उपचारमा आजकाल महँगा र नयाँ औषधि नै चाहिने अवस्थाको सिर्जना भएको छ । जसले गर्दा उपचार महँगिएको छ । कतिपय बेलामा औषधिहरूले नकारात्मक असर गर्छ भनी थाहा हुँदाहुँदै पनि सो औषधि प्रयोग गर्नु पर्ने बाध्यता बढेको छ । जसले गर्दा उपचार विधि झन् जटिल हुन पुगेको छ ।

८. एन्टिबायोटिक प्रतिरोध कम गर्न के गर्नु पर्छ होला?
उत्तरः
स्वास्थ्यकर्मीहरुले एन्टिबायोटिक जथाभाबी प्रयोग गर्नु हुँदैन । एन्टिबायोटिक प्रयोग गर्नु अगाडि सधैँ आवश्यक ल्याब टेस्टहरू गराउने र त्यहाँबाट रिपोर्ट आएपछि रिपोर्टको आधारमा सहीऔषधि सही मात्रामाप्रयोग गर्ने बानी बसाल्नु पर्छ ।

बिरामीले सो एन्टिबायोटिकको सही प्रयोग गरेको वा नगरेको फलो अपमा खयाल पुर्याउनु पर्छ । एन्टिबायोटिक सेवन गर्दा बिरामीमा केही समस्या उब्जेको छ भने त्यसलाई पनि हल गर्नु पर्ने हुन्छ ।

९. अन्त्यमा हाम्रा पाठकहरूलाई हजुर के सुझाव दिनु चाहनु हुन्छ ?
उत्तरः
तपाईँले यदि एन्टिबायोटिकको प्रयोग गर्दै हुनुहुन्छ भने, यी चर कुराहरूमा अवश्य ध्यान दिनु होला ।


क) सामान्य घाँटी दुख्ने वा पेट दुख्ने हुँदैमा एन्टिबायोटिकको सेवन नगरिदिनु होला ।
ख) तपाईँ कुनै स्वास्थ्य कर्मीको सुझाव नलिई कुनै पनि एन्टिबायोटिकको प्रयोग नगर्नुहोला ।
ग) कुनै एन्टिबायोटिकको प्रयोग गर्दै हुनुहुन्छ भने चिकित्सकले दिएको औषधी पुरा समय सम्म, मात्रा पुरा गरेर सेवन गर्नुहोला ।
घ) एन्टिबायोटिकको मात्रा पुरा गरेर पनि सो रोग निको भएन भने पुनः चिकित्सक कहाँ गई जँचाउनु होला, कतै एन्टिबायोटिक प्रतिरोध त हैन भनी ध्यान पुर्‍याउनु होस् ।

Comments

comments

प्रबन्धक

सम्पर्क

Gmail : hsarokar@gmail.com
मध्य-बानेश्वर

Health Sarokar Tv

CopyRight @ 2020 Health Sarokar. All Right Reserved.